काठमाडौं । प्रेमको नाममा विश्वास, विश्वासको नाममा लगानी, लगानीको नाममा नियन्त्रण, नियन्त्रणकाे नाममा बलात्कार, अनि अन्ततः आर्थिक र मानसिक रूपमा ध्वस्त बनाउने योजनाबद्ध खेल ।
टिकटकमार्फत चर्चामा आएकी व्यवसायी तुलसा अधिकारीले जनअदालतसंग गरेको टेलिफोन कुराकानीले यतिबेला गम्भीर प्रश्नहरू उठाएको छ।
यो केवल प्रेम सम्बन्ध टुटेको कथा होइन, बरु भावनात्मक रूपमा विश्वास जितेर आर्थिक, सामाजिक र व्यवसायिक रूपमा कब्जा जमाउने एउटा सुनियोजित षड्यन्त्रको कथा हो।
यदि तुलसाका आरोप सत्य सावित भए, यो घटना प्रेम सम्बन्धको आवरणमा सञ्चालन गरिएको आर्थिक शोषण र व्यवसायिक नियन्त्रणको गम्भीर उदाहरण बन्न सक्छ।
क्यान्सरको कथा, विवाहको सपना र विश्वासको सुरुवात
तुलशाकाे २०७५ सालतिर सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’का सञ्चालक कुमार चिमोरियासँगको चिनजान विस्तारै निकट सम्बन्धमा परिणत हुन्छ।
कुमार विवाहित भए पनि श्रीमती क्यान्सरको अन्तिम चरणमा रहेको, सम्बन्ध केवल नाममात्रको रहेको र निकट भविष्यमा विवाह गर्ने प्रतिबद्धता जनाउँदै भावनात्मक रूपमा तुलशालाई विश्वास दिलाएका थिए।
वर्षौंसम्म यही कथामा विश्वास गरेर सम्बन्ध अगाडि बढेको तुलसाको भनाइ छ।
प्रेम कि सम्पत्तिमाथिको रणनीतिक पहुँच ?
सुरुमा सहयोग, त्यसपछि लगानी, अनि क्रमशः व्यवसायमा प्रत्यक्ष संलग्नता। तुलसाका अनुसार फेन्सी पसलदेखि अन्य व्यवसायसम्म विस्तार गर्ने क्रममा करोडौंको कारोबार खडा भयो। तर व्यवसाय बढेसँगै सम्बन्धको स्वरूप पनि बदलिँदै गयो।
आर्थिक कारोबार, बैंक खाता, पसल व्यवस्थापन, घरभाडा, कर्मचारी व्यवस्थापनदेखि निर्णय प्रक्रियासम्म प्रभाव बढ्दै गएको तुलसाको भनाइ छ।
“म व्यवसाय चलाइरहेकी थिए, तर विस्तारै मेरो व्यवसायमाथि कुमारले नियन्त्रण जमाइरहेको महसुस हुन थाल्यो,” तुलसाको भनाइ छ।
क्यान्सरको कथामाथि प्रश्न उठ्दा किन बदलियो व्यवहार ?
सम्बन्धमा दरार त्यतिबेला सुरु भएको तुलसा बताउँछिन्, जब उनले वर्षौंदेखि सुनाइँदै आएको क्यान्सर सम्बन्धी दाबीको प्रमाण खोज्न थालिन् तुलशा ।
तुलशाले स्वास्थ्य रिपोर्ट माग्दा स्पष्ट जवाफ दिएन कुमारले। प्रश्नहरू बढ्दै जाँदा सम्बन्धमा तनाव बढ्न थाल्यो।
यही बिन्दुदेखि व्यवहार पूर्ण रूपमा बदलिएको थियाे, कुमार र तुलशाकाे ।
पसलमा ताला, घर खाली गर्न दबाब र आर्थिक नाकाबन्दी
तुलसाले जनअदालतलाई बताए अनुसार आफूले प्रश्न उठाउन थालेपछि पसलमा ताला लगाउने, व्यवसायिक गतिविधिमा अवरोध सिर्जना गर्ने, घर खाली गर्न दबाब दिने र आर्थिक रूपमा कमजोर बनाउने प्रयास गरे कुमारले।
जुन व्यक्ति वर्षौंसम्म सहयोगीको भूमिकामा थिए, उनी नै पछि व्यवसायिक अवरोधको मुख्य कारण बनेको तुलसाको दाबी छ।
थाइल्यान्डको यात्रा: जहाँ सम्बन्ध पूर्ण रूपमा भत्कियो
तुलसाका अनुसार थाइल्यान्ड भ्रमणका क्रममा सम्बन्धले निर्णायक मोड लियो।
उनले आफ्नो इच्छाविपरीत शारीरिक सम्बन्धका लागि दबाब दिइएको आरोप लगाएकी छन्। त्यसलाई अस्वीकार गरेपछि विवाद चर्किएको र आफूलाई होटलमै असुरक्षित अवस्थामा छाडिएको उनको दाबी छ।
यो घटनापछि सम्बन्ध पुनः सामान्य अवस्थामा फर्किन नसकेको उनी बताउँछिन्।
सम्बन्ध टुट्यो, तर सुरु भयो चरित्रहत्या अभियान ?
तुलसाको अर्को गम्भीर आरोप सम्बन्ध समाप्तिपछि सुरु भएको कथित बदनाम अभियानसँग जोडिएको छ।
उनका अनुसार आपूर्तिकर्ता, व्यवसायिक साझेदार, कर्मचारी र चिनजानका व्यक्तिहरू र केही पत्रकारलाई सम्पर्क गरेर आफूविरुद्ध नकारात्मक सूचना फैलाउने काम गरियो पैसाको आडमा।
कसैलाई आफू ठगीमा संलग्न रहेको, कसैलाई ऋण खाएर भागेको, कसैलाई आर्थिक रूपमा डुबेको व्यक्ति भएको भन्दै गलत सूचना प्रवाह गरे कुमारले । प्रहरी प्रशासनलाई समेत खरिद गर्न भ्याए कुमारले । तुलशाबिरुद्ध जबर्जस्ती ठगी तथा आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरी वृत्त सातदोबाटोमा उजुरी दायर गरे कुमारले ।
तीन करोडको व्यवसाय कसरी पुग्यो ५० लाखमा ?
सम्पूर्ण घटनाक्रमको सबैभन्दा संवेदनशील पक्ष व्यवसायसँग सम्बन्धित छ।
तुलसाका अनुसार आफूले निर्माण गरेको व्यवसायमा करोडौं मूल्य बराबरको सामान, पूर्वाधार र लगानी थियो।
तर पछि उक्त व्यवसाय आफ्नो नियन्त्रणबाट बाहिर लगिएको र करिब ५० लाख रुपैयाँमा बिक्री गरिएको उनको आरोप छ।
त्यति मात्र होइन, बिक्री प्रक्रियामा आफूलाई व्यवसाय सञ्चालक नभई सामान्य कर्मचारीका रूपमा चित्रण गरिएको दाबी पनि उनले गरेकी छन्।
लिखित सहमति भएपछि पनि किन रोकिएन विवाद ?
तुलसाका अनुसार करिब दुई वर्षअघि दुवै पक्षबीच लिखित सहमति गरी व्यक्तिगत, आर्थिक र सामाजिक सम्बन्ध अन्त्य गर्ने समझदारी भएको थियो।
तर त्यसपछि पनि मानसिक दबाब, व्यवसायिक अवरोध र बदनाम गर्ने गतिविधि गरिरहे कुमार ।
तुलशाले बैंक कारोबार विवरण, आर्थिक अभिलेख, व्यवसायिक कागजात, डिजिटल सन्देश तथा अन्य प्रमाण आफूसँग सुरक्षित रहेको बताएकी छन्।































