नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशमा प्रेस सेन्टर नेपालको तर्फबाट सदस्य रहेकी पत्रकार रमिला योञ्जन (रमिला पोखरेल) बहुविवाह सम्बन्धी मुद्दामा पक्राउ परेर धरौटीमा रिहा भएको खुलेको छ।
उनीविरुद्ध दर्ता भएको बहुविवाह मुद्दामा काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको हो।
स्रोतका अनुसार रमिला वैशाख महिनामै पक्राउ परेकी थिइन्। पक्राउपछि उनीमाथि बहुविवाह सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको थियो।
उक्त मुद्दामा सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजलासले जेठ ८ गते धरौटीमा रिहा गर्ने आदेश दिएको हाे।
स्रोतका अनुसार रमिलामाथि लक्ष्मी कार्की कुँवरका श्रीमान् रहेका पूर्व प्रहरी हवल्दारसँग लिभिङ टुगेदरमा बसेको आरोप लागेको छ।
सोही विषयलाई आधार बनाएर बहुविवाह सम्बन्धी उजुरी दर्ता भएको र त्यसैका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो ।
प्रहरी स्रोतले जनाएअनुसार उजुरीपछि आवश्यक प्रमाण संकलन, बयान तथा अन्य अनुसन्धानात्मक प्रक्रिया पूरा गरी मुद्दा अदालतमा पेश गरिएको थियो।
अदालतले प्रारम्भिक सुनुवाइपछि उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
रमिला लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएकी छन्।
उनी नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशमा प्रेस सेन्टर नेपालको तर्फबाट सदस्य रहेकी छिन् ।
उनको पक्राउ र धरौटीमा रिहाइको विषय सार्वजनिक भएसँगै पत्रकारिता वृत्तमा समेत चर्चा सुरु भएको छ।
नेपालको प्रचलित कानुनअनुसार बहुविवाह कसुर फौजदारी अपराध अन्तर्गत पर्दछ।
कुनै व्यक्तिले कानुनी रूपमा वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गरे वा त्यस्तो कार्यमा संलग्न भएको पुष्टि भएमा कानुनी कारबाहीको व्यवस्था रहेको छ।
































