वि.सं.२०८३ जेठ २३ शनिवार

छुवाछूत उन्मुलन दिवस : दलित मुक्ति आन्दोलनको गौरवपूर्ण यात्रा र भविष्यको संकल्प

आज हामीले जातीय विभेद तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसलाई स्मरण गर्दैछौं। यो दिन केवल एक स्मरण मात्र होइन, यो दिन दलित मुक्ति आन्दोलनको गौरवपूर्ण इतिहास, बलिदान र संघर्षलाई सम्मान गर्ने अवसर हो।

आन्दोलनको गौरवपूर्ण यात्रा

झण्डै आठ दशक लामो दलित मुक्ति आन्दोलनले नेपाली समाजमा राजनीतिक, आर्थिक र सामाजिक चेतनाको नयाँ अध्याय खोल्यो। यस आन्दोलनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिकता जस्ता मूल्यहरूलाई संस्थागत गर्दै नयाँ नेपालको सपना देखायो।२०६२/६३ को ऐतिहासिक जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधि सभाले २०६३ जेठ २१ मा नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गर्‍यो। यो घोषणा दलित आन्दोलनको विजय मात्र होइन, सम्पूर्ण नेपाली समाजको प्रगतिशील यात्राको प्रतीक थियो।

विडम्बनापूर्ण वास्तविकता के छ भने, छुवाछूतमुक्त राष्ट्र घोषणा भएपछिका वर्षहरूमा सात दर्जनभन्दा बढी दलितहरूको हत्या भयो, हजारौं दलित समुदाय जातीय हिंसाको मारमा परे। यसले देखाउँछ कि कानुनी घोषणा मात्र पर्याप्त छैन । सामाजिक चेतना र राज्यको दृढ प्रतिबद्धता अपरिहार्य छ। छुवाछूत र विभेदलाई कडा दण्डनीय अपराधका रूपमा व्यवहार गरिनुपर्छ। यसमा संलग्न अपराधीहरूलाई कानुनी दायरामा ल्याउन राज्यले शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ। दलित समुदायको बलिदान र संघर्षलाई राष्ट्रिय गौरवको रूपमा सम्मान गर्दै समतामूलक समाज निर्माणमा सबै नेपाली एकजुट हुनुपर्छ।

आम मानिस एक पटक मर्छ, तर दलित समुदायलाई हजारौं पटक मर्न बाध्य बनाइएको छ। के मर्न शासनै जानुपर्छ र? जीवनभर पटक–पटकको विभेद, अपमान र तिरस्कारमा हामी निरन्तर मृत्युको अनुभूति गरिरहेका छौं। मान्छे भएर बाँच्न अझै कति कुर्नुपर्ने हो? अझै कति जनाले रगत बगाउनुपर्ने हो अनि बलिदान दिन तयार हुनुपर्ने हो?
विज्ञान र प्रविधिले संसारलाई कहाँदेखि कहाँ पुर्याइसक्यो, तर हामी अझै पनि मान्छे भएर बाँच्न आवाज उठाइरहेका छौं।
यो विडम्बना हो कि विभेद, पीडा, अपमान, घृणा र तिरस्कारलाई समाजले नदेखे जस्तो गर्छ, नसुने जस्तो गर्छ।

भविष्यको संकल्पअब समय आएको छ । नयाँ यात्राको लागि संकल्प गरौं। गन्तव्य नपुन्जेल निरन्तर संघर्ष गर्ने उद्घोष गरौं।
दलित समुदायले परिकल्पना गरेको सुन्दर, समतामूलक र विभेदमुक्त नेपाल निर्माण हाम्रो साझा जिम्मेवारी हो।

✍️ प्रकाश परियार
केन्द्रीय सदस्य-राष्ट्रिय दलित पत्रकार संघ
महासचिव-दलित जनअधिकार मंच नेपाल
केन्द्रीय सदस्य एवं प्रदेश सहसचिव-दलित मुक्ति मोर्चा