वि.सं.२०८३ जेठ २३ शनिवार

झापा अस्तव्यस्त, एसपी श्रीमानको सरुवामा व्यस्त

काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्व अहिले प्रहरी उपरीक्षक (एसपी) बसुन्धारा खड्काले सम्हालिरहेकी छन्। काभ्रेमा सफल कमाण्ड गरेको छवि बनाएपछि उनलाई २०८२ माघ ४ गते झापामा सरुवा गरिएको थियो।

त्यतिबेला झापा निर्वाचनका कारण संवेदनशील जिल्लाका रूपमा हेरिएको थियो। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री बालेन्द्र शाह चुनावी प्रतिस्पर्धामा उत्रिएपछि सुरक्षा चुनौती बढ्ने आकलनसहित प्रहरी प्रधान कार्यालयले खड्कालाई झापाको कमाण्डमा पठाएको थियो।

निर्वाचन सफलतापूर्वक सम्पन्न गराएपछि एसपी खड्काको प्रशंसा पनि भयो। तर, फागुन २१ गते निर्वाचन सकिएसँगै उनी सार्वजनिक रूपमा कमै देखिन थालेकी छन्। यसबीच झापामा आपराधिक गतिविधि, हत्या, घरेलु हिंसा र लागूऔषधसँग सम्बन्धित घटनाहरू बढ्दै गएका छन्। यस्तो अवस्थामा जिल्लाको सुरक्षा नेतृत्व प्रभावकारी रूपमा सक्रिय छ कि छैन भन्ने प्रश्न उठ्न थालेको छ।

रमा तिवारी हत्या प्रकरण रहस्यमै
गत जेठ १६ गते बिहान दमक नगरपालिका–१० स्थित रतुवा खोलाको पुलमुनि बोराभित्र प्याक गरिएको अवस्थामा एक महिलाको शव फेला परेको थियो। प्रारम्भमा शवको पहिचान खुल्न सकेको थिएन। प्रहरीले सार्वजनिक गरेको विवरणका आधारमा मृतक दमक–८ निवासी रमा तिवारी रहेको पुष्टि भयो।

प्रहरीका अनुसार रमा जेठ १३ गते राति घरबाट निस्किएकी थिइन् र त्यसपछि सम्पर्कविहीन बनेकी थिइन्। शव बोराभित्र पोको पारिएको अवस्थामा फेला परेकाले घटनालाई अत्यन्तै शंकास्पद मानिएको छ।

प्रारम्भिक अनुसन्धानले हत्या गरेर शव खोलामा फालिएको हुनसक्ने संकेत गरे पनि घटनामा संलग्न व्यक्ति अझै पक्राउ परेका छैनन्। घटनाको कारण र हत्यामा संलग्न व्यक्तिबारे प्रहरीसँग स्पष्ट निष्कर्ष छैन।

एकपछि अर्को आपराधिक घटना
झापामा पछिल्ला दिनहरूमा हिंसात्मक घटनाको शृंखला देखिएको छ। गत शुक्रबार कनकाई नगरपालिका–५ मा सूर्यलाल राजवंशीमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाइएको थियो।

त्यसअघि बिर्तामोड नगरपालिका–१ मा घरायसी विवादका क्रममा बुद्धिलाल मुर्मुले आफ्नी श्रीमती र छोरीमाथि खुकुरी प्रहार गरेको आरोप छ। घटनापछि उनी फरार भएका छन्।

दुई साताअघि अर्जुनधारा नगरपालिका–८ मा मदिरा सेवनपछि भएको विवादमा एक युवतीको ज्यान गएको थियो। त्यस्तै, हल्दीबारीमा श्रीमतीको हत्या भएको अर्को घटना पनि सार्वजनिक भएको थियो।

यी घटनाले जिल्लाको सुरक्षा अवस्था चुनौतीपूर्ण बन्दै गएको देखाउँछन्।

झापा प्रहरीले बेला–बेलामा लागूऔषध र तस्करीका सामान बरामद गरिरहेको भए पनि मुख्य कारोबारी तथा गिरोहका नाइकेहरू पक्राउ गर्न नसकेको आरोप लाग्दै आएको छ।

आलोचकहरूका अनुसार प्रहरीले भरियालाई समात्ने तर मुख्य योजनाकारसम्म पुग्न नसक्ने प्रवृत्ति देखाइरहेको छ।

एसपी खड्कामाथि उठेका प्रश्न
यसबीच एसपी खड्का आफ्नो जिम्मेवारीभन्दा बढी श्रीमान् एसएसपी दिलिप घिमिरेको सरुवाका लागि सक्रिय रहेको चर्चा प्रहरी वृत्तमै भइरहेको स्रोतहरूको दाबी छ। एसएसपी घिमिरे हालको सरुवा प्रक्रियामा काठमाडौं प्रहरी प्रमुख बन्ने दौडमा रहेको बताइन्छ।

झापामा चुनाव गराउँदा राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुसँग नजिक भएकी एसपी खड्का अहिले जसरी पनि आफ्नो श्रीमानलाई काठमाडौं प्रहरी प्रमुख बनाउन मरिहत्ते गरिरहेकी छन् । आफ्नो कमाण्ड जिल्ला झापा अस्तव्यस्त हुँदा पनि उनी श्रीमानको सरुवाको लागि व्यस्त भइरहँदा प्रहरी संगठनभित्रै प्रश्न्चिन्ह खडा भएको छ ।

एसएसपी घिमिरे आफैंमा नराम्रो प्रहरी अधिकृत होइनन् । संगठनमा इमान्दार छवि बनाएका उनी कमजोर कमाण्ड क्षमताका अधिकृत पनि हुन् । जबकी काठमाडौं उपत्यकाको पनि महत्वपूर्ण मानिने काठमाडौं जिल्लाको कमाण्डको जिम्मेवारी अब्बल क्षमता भएको प्रहरी अधिकृतलाई दिनुपर्ने हुन्छ ।

उनै घिमिरेको कारण प्रहरीमा एसएसपी सरुवा रोकिएको समेच चर्चा छ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की काठमाडौंमा अब्बल र क्षमतावान अधिकृतलाई पठाउन खोजिरहेका छन् । तर, गृह मन्त्रालयको समेत बागडोर सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकारहरुबाट आफूअनुकुलका एसएसपीको नाम सिफारिस भएपछि सरुवा रोकिएको हो ।

प्रहरी स्रोतहरूका अनुसार काठमाडौं जिल्ला प्रहरी परिसरको नेतृत्वका लागि विभिन्न नामहरू चर्चामा रहेकाले सरुवा प्रक्रिया समेत प्रभावित भएको चर्चा छ।

प्रहरी संगठनभित्र चासो
झापामा हत्या, हिंसा, लागूऔषध र तस्करीका घटनाहरू बढिरहेका बेला जिल्ला नेतृत्व प्रभावकारी रूपमा सक्रिय हुन नसकेको गुनासो स्थानीय तहदेखि प्रहरी संगठनभित्रसम्म सुनिन थालेको छ।

यस्तै, रमा तिवारीको शव फेला परेको समय एसपी खड्का व्यक्तिगत भ्रमणमा रहेको चर्चा पनि भइरहेको छ। यद्यपि यसबारे आधिकारिक प्रतिक्रिया आएको छैन।

जिल्लाको सुरक्षा अवस्था चुनौतीपूर्ण बन्दै जाँदा झापावासीको मुख्य प्रश्न एउटै छ- आखिर जिल्लाको सुरक्षा नेतृत्व अहिले कहाँ केन्द्रित छ ?