अस्पताल लैजान अनुमति, तर कैदी पुगे होटलमा; सुरक्षा ड्युटीमा गम्भीर लापरबाही
काठमाडौं । केन्द्रीय कारागार सुन्धारामा ठगी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका एक कैदीलाई उपचारका लागि अस्पताल लैजाने अनुमति लिएर सामाखुसीस्थित होटलमा लगिएको घटना सार्वजनिक भएपछि दुई प्रहरी कर्मचारीलाई सेवाबाट हटाउने निर्णय गरिएको छ।
प्राप्त विवरणअनुसार कैदी अनुप भण्डारीलाई ढाडसम्बन्धी समस्याको उपचारका लागि जेठ १ गते सामाखुसीस्थित विनायक अस्पताल तथा प्रसूति गृहमा लैजान कारागार प्रशासनले अनुमति दिएको थियो। तर अस्पताल पुग्नुपर्ने कैदी अस्पताल नगई सिधै होटल दिपसागर पुगेका थिए।
उपत्यका प्रहरी कार्यालयको आन्तरिक छानबिनबाट भण्डारीले होटलमा मासु र बियर सेवन गरेको तथा करिब ३२ वर्षीया एक महिलासँग होटलको कोठा नम्बर ५०२ मा झण्डै तीन घण्टा बिताएको खुलेको छ।
घटनाका बेला उनको सुरक्षार्थ खटिएका प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र जवान टेकबहादुर विक साथमा रहेका थिए।
स्राेतकाअनुसार प्रहरी टोली सरकारी गाडी र हातहतियारसहित होटल पुगेको थियो। त्यहाँ कैदीलाई लगाइएको हत्कडी समेत खोलिएको र महिलासँग बस्न तथा मादक पदार्थ सेवन गर्न दिइएको छ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसपी नरहरी रेग्मी नेतृत्वको समितिले गरेको अनुसन्धानपछि एआईजी ईश्वर कार्कीसमक्ष प्रतिवेदन बुझाइएको थियो।
सोही प्रतिवेदनका आधारमा दुवै प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी प्रहरी सेवाबाट हटाउने निर्णय गरिएको स्रोतले जनाएको छ।
गल्ती स्वीकारे प्रहरी कर्मचारी
समितिसमक्ष दिएको बयान र स्पष्टीकरणमा हवल्दार कुँवर र जवान विकले घटनालाई स्वीकार गरेका छन्। उनीहरूले उपचार गर्ने चिकित्सक ढिलो आउने भएकाले कैदीलाई केही समय क्यान्टिनमा राखेको र त्यसपछि होटल दिपसागरमा लगेर बसाएको बताएका छन्।
होटलका म्यानेजर किसान गुरुङले पनि दुई जना बर्दीधारी प्रहरी, एक जना पुरुष र एक जना महिला होटलमा करिब तीन घण्टा बसेको पुष्टि गरेका छन्।
उनले बयानमा उनीहरूले होटलको कोठा नम्बर ५०२ मा बसेर बियर र जुस सेवन गरेको उल्लेख गरेका छन्।
सुरक्षा व्यवस्थामाथि प्रश्न
घटनापछि केन्द्रीय कारागारको सुरक्षा संयन्त्र र कमाण्डमाथि पनि प्रश्न उठेको छ। कारागारको सुरक्षा कमाण्ड डीएसपी शैलेश न्यौपानेले सम्हाल्दै आएका छन्। यद्यपि छानबिन समितिले उनको भूमिकाबारे कुनै टिप्पणी गरेको छैन।
प्रहरी नियमावली २०७१ अनुसार उपचारका लागि अस्पताल पठाइएका कैदीलाई अन्यत्र लैजान पाइँदैन। त्यसमाथि कैदीलाई मादक पदार्थ सेवन गर्न दिनु, हत्कडी खोल्नु र महिलासँग एकान्तमा बस्ने वातावरण बनाइदिनु सुरक्षा र आचरणका दृष्टिले गम्भीर उल्लंघन मानिएको छ।
यो घटनाले कारागार सुरक्षा, प्रहरी अनुशासन र कैदी व्यवस्थापनको प्रभावकारितामाथि गम्भीर प्रश्न खडा गरेको छ।
यसअघि पनि केन्द्रीय कारागार सुन्धाराबाट नुवाकोटकी २५ वर्षीया सपना तामाङ कैदीबन्दी फरार भएकी थिईन् ।
सपना अपहरण शरीर बन्धक डाका र चोरी मुद्दा उनी कारागारमा थिइन् । २०७७ चैत ४ गते कारागार चलान भएकी थिइन् ।






























