वि.सं.२०८३ भदौ २८ आइतवार

बाढीमा पनि नझुकेका परशुराम !

तिब्बत छेउबाट भदौ १० गते अकस्मात आएको बाढीले मुलुकमा राष्ट्रिय विपत्ति निम्त्याउँदा आफ्नो प्रगति पथमा हिँडिसकेको धादिङस्थित सिद्धलेक गाउँपालिकालाई पनि नराम्रोे धक्का पुर्‍याएको छ ।

ल्हेन्दे खोलामाथिबाट आएको हिमबाढीले रसुवास्थित भोटेकोशी हुँदै त्रिशुली तथा नाराणी नदी किनारसम्म जन धनको ठूलो क्षति गरेको छ । ४ हजार भन्दाबढी मानिस हताहती भएको तथा खर्बौँको भौतिक क्षतिको अनुमान गरिएको यो महाविपद्ले धादिङस्थित सिद्धलेक गाउँपालिलाई पनि अछुतो राखेन ।

गाउँपालिका अध्यक्ष परशुराम खतिवडाका अनुसार सिद्धलेकका वडा नम्बर ३, ४, ६ र ७ बाढीले बढी प्रभावित भएका छन् । बाढीको विध्वंशपछि त्यहाँ सडक र खानेपानीको समस्या टड्कारो भएको छ भने विद्यालय सञ्चालन गर्न कठिनाई भएको छ । बाढीले सिद्धलेकमा पर्ने तीन वटा मोटरेवल पुल बगाएको छ भने खानीपानीको आपुर्ति प्रभावित भएको छ ।

भदौ १० को बाढीले सिद्धलेक गाउँपालिका क्षेत्रभित्र पर्ने जरे पुल, घाटबेँशी–पिपलटार पुल, फुर्केखोला–धादिङबेँशी पुल तथा ५ वटा झोलुङ्गे पुलहरूमा क्षति पुग्यो भने विभिन्न सडक मार्गहरू अवरुद्ध भई आवागमनमा गम्भीर समस्या उत्पन्न भएको गाउँपालिका अध्यक्ष खतिवडाको भनाइ छ ।

त्यसरी बाढीले असर गरेका पाँच वटा झोलुङ्गे पुल तत्काल मर्मत गर्नु पर्ने देखिएको अध्यक्ष खतिवडाले बताए ।

बाढी तथा पहिरोका कारण धादिङबेँशी जोड्ने सबैजसो सडक मार्गहरू अवरुद्ध भएको र हाल सञ्चालनमा रहेको मास्टर–बेलिन्टार–आदमटार–पिपलटार–माझीटार–परेवाटार सडक खण्ड नै उपयुक्त वैकल्पिक मार्गका रूपमा रहेको अध्यक्ष खतिवडाको जिकिर छ ।

त्यो सडकलाई तत्काल आवश्यक मर्मत तथा स्तरोन्नति गरी यातायात सञ्चालन योग्य बनाउन सकेका खण्डमा विपद्को समयमा नागरिकको आवागमन, अत्यावश्यक सेवा तथा दैनिक उपभोग्य सामग्रीको आपूर्ति सहज बनाउन महत्वपूर्ण सहयोग पुग्ने आवश्यकता खतिवडाले औंल्याएका छन् ।

वैकल्पिक सडक मार्गको पहिचान गरी अध्यक्ष खतिवडाले आधार एवं कारणसहित बाढीबाट क्षतिग्रस्त सडक, पुलहरूको तत्काल मर्मतका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार र डिभिजन सडक कार्यालय गजुरीलाई अनुरोधपत्र लेखिपठाएका छन् ।

प्रधानमन्त्री कार्यालयलाई लेखेको पत्रमा अध्यक्ष खतिवडाले मुख्यमन्त्री तथा मन्त्रिपरिदको कार्यालय बाग्मती प्रदेश, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबार र जिल्ला प्रशासन कार्यालय धादिङलाई बोधार्थ दिएका छन् ।

प्रधानमन्त्री कार्यालयलाई उनले सडक र मोटरेवल पुलेको प्राविधिक निरीक्षण तथा आवश्यक मर्मत वा पुनःनिर्माणका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन तथा समन्वय गरिदिन र आवश्यक बजेट तथा प्राविधिक सहयोगसहित स्तरोन्नति गरी तत्काल यातायात सञ्चालनयोग्य बनाउन तत्काल पहल एवं सहजीकरण गरिदिनुहुन भनी अनुरोध गरेका छन् ।

हाल सञ्चालनमा रहेको मास्टर–बेलिन्टार–आदमटार–पिपलटार–माझीटार–परेवाटार सडकलाई आवश्यक मर्मत तथा स्तरोन्नति गरी यातायात सञ्चालनयोग्य बनाउन आवश्यक बजेट तथा प्राविधिक सहयोग उपलब्ध गराइदिन भनी अध्यक्ष खतिवडाले डिभिजन सडक कार्यालय गजुरीलाई पनि लिखितै आग्रह गरेका छन् ।

गाउँपालिका बासीलाई बाढीले पीडा दिए पनि गाउँपालिका अध्यक्ष खतिवडाको सक्रियता भने झनै बढेको छ ।

अध्यक्ष खतिवडा आफैं बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिएका छन् भने विपद प्रभावित आफ्ना नागरिकलाई थप समस्यामा पर्न दिएका छैनन् ।

०६२/०६३ देखि नै समाजसेवामा सक्रिय खतिवडाको गाउँपालिका अध्यक्षका रुपमा यो पहिलो कार्यकाल भए पनि सिद्धलेक गाउँपालिकामा निर्वाचित भएर आएपछि उल्लेख्य ढंगले भौतिक पूर्वाधार, सामाजिक विकास तथा नागरिकको आर्थिक एवं साँस्किृतक विकासको क्षेत्रमा उनले महत्वपूर्ण कामहरु गरेका छन् ।

चौतर्फी घेराबन्दीका बाबजुद पनि अध्यक्ष खतिवडा पूर्ण जोश जागरका साथ नागरिकको सेवामा कटिबद्ध भएर लागि परेका छन् । नियमसंगत रुपमा मात्रै काम गर्न रुचाउने उनलाई सामाजिक सञ्जालको एल्गोरिमदले भने आलोचित गर्ने गरेको छ ।

नदीजन्य बस्तुहरु उत्खनन्मा कानूनसम्वत काम गर्न खोज्दा चौतर्फी घेराबन्दीमा पारिए पनि उनी रत्तिभर विचलित भएनन् ।
उनले आफुविरुद्ध भएका अनेक षड्यन्त्रका जालो च्यात्दै किसानलाई महत्वपूर्ण प्राथमिकता दिँदै आएका छन् भने पालिकाभित्र सडक सञ्जाल विस्तारदेखि शिक्षा, स्वास्थ्य र खानेपानीलगायत अन्य भौतिक पूर्वाधारमा देखिने गरी थुप्रै काम गरेका छन् ।

उनी निर्वाचित भएर आएपछि पालिकामा १५ शय्याको अत्याधुनिक अस्पताल निर्माण भएको छ भने विभिन्न ठाउँमा युवा लक्षित खेलकूद मैदान निर्माण गरिएका छन् ।

किसान र उपभोक्ता दुबैलाई सहुलियत हुने गरी कृषि उपज व्यवस्थापन तथा हाटबजार सञ्चालनको प्रबन्ध मिलाएका छन् । गाउँपालिकाको डिजिटल प्रोफाइल निर्माणपछि विश्वको जुनसुकै कुनाबाट गाउँपालिकाबारे अध्ययन अवलोकन गर्न मिल्ने भएको छ भने सडक रेलिङ, चोक चोकमा जडित डिजिटल बोर्ड र सिसिटिभी क्यामेराले वडाबासीहरुको सुरक्षा व्यवस्था थप मजबुद भएको अध्यक्ष खतिवडाले बताएका छन् ।

उनले गाउँपालिकाबासी अन्धकारमा बस्नु नपरोस् भनेर आफ्नै व्यक्तिगत खर्चमा विद्युतीय ट्रान्सफर्मर समेत जडान गरिदिएको उदाहरण छ ।

अध्यक्ष खतिवडाले स्थानीयलाई सीप सिकाउनेदेखि गाउँपर्यटनलाई आफ्नो कार्ययोजना बनाएका छन् भने ऐतिहाक स्थल तथा पर्यटकीय ठाउँको प्रवद्र्धनको गुरुयोजना कार्यान्वयनमा ल्याएका छन् ।

होमिस्टेको प्रवद्र्धनमा जोड दिएका अध्यक्ष खतिवडाले पाहुनाको स्वागतका लागि आफ्नै पालिकाभित्र खादा माला उत्पादनको प्रबन्ध मिलाउने योजना समेत अघि सारेका छन् ।

सामाजिक सञ्जालमा आफुबारे हुने गरेका टिका टिप्पणीबारे धारणा राख्दै उनले क्रिया प्रतिक्रियामा उत्रिने भन्दा पनि कामबाटै जवाफ दिने बताएका छन् ।