एक समय नेपाल प्रहरीको जवान रहेका गणेश कार्की अहिले उपत्यकामा आतंक मच्चाउने पेसेवर लुटेराका रूपमा चिनिएका छन्। हत्या, डाँका चोरी, हातहतियार, लुटपाट र कारागारबाट फरारजस्ता गम्भीर घटनामा नाम जोडिएका कार्कीलाई शनिवार राति जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली प्रहार गरेर पक्राउ गरेको छ ।
बुढानीलकण्ठ–३ चपली भद्रकालीका ४० वर्षीय कार्कीलाई शनिवार दिउँसो सुकेधारामा एक महिलामाथिको साथ सुनसहितका गरगहना लुटपाट गरेका थिए ।
लुटपाट गरी भाग्दै गरेको अवस्थामा पछ्याएर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हाे।
भाग्ने क्रममा प्रहरीले चलाएको गोली उनको बायाँ खुट्टामा लागेको थियो। हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
प्रहरीको जागिरबाट अपराधको दुनियाँसम्म
२०६१ सालमा प्रहरी जवानमा भर्ना भएका कार्कीले तीन वर्षमै सेवा छाडे। तर त्यसपछि उनको जीवन अपराधको अन्धकारतर्फ मोडिएको देखिन्छ।
२०६४ सालमै उनी अभद्र व्यवहार र हातहतियारसम्बन्धी मुद्दामा तानिए।
त्यसको केही वर्षमै कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई लामो कैद सजाय भोगे।
२०७८ सालमा जेलबाट छुटे पनि उनी सुध्रिन सकेनन्। चोरी र डाँका चोरीका नयाँ मुद्दामा पुनः पक्राउ परे।
जेलभित्रबाट बाहिर, अपराधमा पुनः सक्रिय
डाँका चोरी मुद्दामा ६ वर्ष कैद सजाय पाएर केन्द्रीय कारागारमा रहेका कार्की २०८२ भदौ २४ गतेको जेन–जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका थिए।
सुरक्षा स्राेतका अनुसार त्यसपछि उनले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा चोरी, लुटपाट र ठगीको सञ्जाल सञ्चालन गरे।
अझ गम्भीर कुरा त के भने, उनले आफू प्रहरी भएको परिचय दिँदै सर्वसाधारणलाई आतंकित पार्ने र लुटपाट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीमाथि नै आक्रमण
फरार अवस्थामै कपन क्षेत्रमा उनलाई पक्राउ गर्न पुगेका सादा पोसाकका प्रहरीमाथि धुलो र खुर्सानी छर्केर भागेको घटना पनि खुलेको छ। त्यसयता उनी प्रहरीको खोजी सूचीमा थिए।
यात्रु र लागुऔषध प्रयोगकर्ता मुख्य निशाना
अनुसन्धानका क्रममा कार्कीले एयरपोर्ट, पशुपति, जोरपाटी, तिलगंगा लगायत क्षेत्रमा आफूलाई प्रहरी परिचय दिँदै विदेश जाने यात्रु तथा लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने बहानामा नगद, मोबाइल र अन्य सामग्री लुट्ने गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ।
गौशालामा बिजुली पसल लुटेको, पिङ्लास्थानमा विदेश जान लागेका व्यक्तिलाई लुटेको, शान्तिनगरमा मोबाइल खोसेको तथा तिलगंगामा प्रहरीको नाममा रकम असुलेको आरोपसमेत उनीमाथि छ।
यस बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।































